चिया दिवस विशेष : चियाको बोट नै नचिनेका विज्ञ देखेर छक्क परेका थिए उदय

13

काठमाडौँ, १५ वैशाख । चिया क्षेत्र ठहरिएको इलाम पुगेका थिए राष्ट्रिय चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक । उनको खातिरदारीमा पर्याप्त प्रबन्ध थियो किनकि सरकारी बोर्डका मुख्य पदाधिकारी नै पुगेका थिए चिया क्षेत्रमा । किसान र उद्यमी आशावादी थिए, यी कार्यकारी निर्देशकले स्थलगत निरीक्षण गरेर फर्किएपछि त पक्कै पनि चियाको बजार सुनिश्चित हुनेछ र भोग्दै आएका समस्या टर्नेछन् ।

‘खै त चिया चै कहाँ फल्छ त ?’ चिया बगानको बीचमा उभिएका कार्यकारी निर्देशकले जब यसरी प्रश्न गरे, किसान र उद्यमी छाँगाबाट खसे । अर्कै बोर्डको पो कार्यकारी परेछन् कि क्या हो जस्तो लाग्यो उनीहरुलाई । विडम्बना के थियो भने उनी वास्तवमै चिया तथा कफी विकास बोर्डकै कार्यकारी निर्देशक थिए, सत्तारुढ दलले नियुक्त गरेका विश्वास पात्र ।

ती कार्यकारी निर्देशकको हुलिया नखुलाइईकन सर्वत्र राजनीतिकरण भएको एउटा ज्वलन्त उदाहरण दिन्छन् अनुभवी चिया उद्यमी उदय चापागाईं ।

राष्ट्रिय चिया नीति २०५७ बनाउन सक्रिय भूमिका निर्वाह गर्नुभएका उदयले विकास बोर्ड बनेपछि चिया क्षेत्रका समस्या क्रमशः निदान हुँदैजाने र अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाले लोकप्रियता हासिल गर्नेमा विश्वास गर्नुभएको थियो । तर, बोर्डको जन्मसँगै त्यसको नेतृत्वमा राजनीतिक हस्तक्षेप सुरु भयो र सत्तारुढ दलले कार्यकर्ता भर्तीकेन्द्र बनाउन थालेपछि उद्देश्य विपरीत काम भएकाले चिया क्षेत्रले सरकारको साथ पाउन नसकेको उदयको बुझाइ छ । चियाको बोट समेत चिन्न नसक्ने अनुभवहीन व्यक्तिलाई नीतिगत नेतृत्व गर्ने निकायको जिम्मेवारी दिइएको घटना सम्झेर उदेक मान्छन् उदय ।

कसरी चियासँग लहसिए उदय ?
उबेला प्रवीणता प्रमाणपत्र तहको परीक्षा केन्द्र थियो इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस । अञ्चलको सदरमुकाम भएकाले चारै जिल्लाका परीक्षार्थी इलाम जानैपर्थ्यो । झापाका विद्यार्थी उदय पनि पुगे । ०२९ सालको सम्झना गर्दै उदयले रोचक शैलीमा सुनाउनुभयो,‘वास्तवमा मेरो उमेर केटीतिर आकर्षित हुने खालको थियो, झापा पनि चियाबगान देखेकै थिएँ, रमाइलो लाग्थ्यो । तर, इलामको चिया बगानको सौन्दयै नै अर्कै १ डाँडाकाँडामा सपक्क परेको चिया बगान देख्दा कसरी कसरी म त मोहित हुनपुगेछु १’

उदयलाई मधेसको समतल भूभागको र पहाडको रोमाञ्चक तरेली परेको चिया बगानको दृश्यले यसरी लठ्याएछ कि उनी आफ्नो भविष्य यही हरिया बगानभित्र खोज्न थाले । भन्छन्,‘केटी हेर्नेबेलाको अल्लारे ठिटो म थाहै नपाई ‘के’ छोडेर ‘टी’ सँग पो नाता गाँस्न पुगेछु, यि हेर्नोस्न मेरो पूरा जीवन यही ‘टी’सँगै बिलिरहेको छ ।’

उदय यतिबेला देशका अनुभवी र अन्तर्राष्ट्रिय बजारमा बलियो पहुँच भएका चिया उद्यमीका रुपमा स्थापित भैसक्नुभएको छ । परीक्षा केन्द्र भएकाले इलाम पुग्नुभएका उहाँ टीसँगको नाताले अधिकांश समय इलामकै फिक्कल र कन्याम क्षेत्रमा बिताउने गर्नुहुन्छ ।

झापाको भद्रपुरका रैथाने उदय चापागाईं इलामका बासिन्दा मात्र भएका छैनन्, युरोपको बजारमा जमेर चिया व्यापार गरिरहेका व्यवसायीलाई समेत चिया क्षेत्रमा ल्याइरहने चियादूतको भूमिका पनि सक्रिय देखिन्छन् ।

चिया पर्यटनको सपना
उदय इलाममा चिया पर्यटनको प्रचूर सम्भावना देख्नुहुन्छ । उहाँको मष्तिस्कमा यसको योजना चित्र पनि रेखाङ्न भैसकेको छ । तर, आवश्यकता छ राष्ट्रिय नीतिको, जसलाई सरकारले नै नेतृत्व लिनुपर्ने छ । विज्ञका रुपमा सरकारलाई राष्ट्रिय नीति बनाउन योगदान गर्ने धेरै उद्यमी उपलब्ध भएको बताउनुहुन्छ आफैँ एक विज्ञ उदय ।

‘टी टुरिज्म’ को बलियो सम्भावना देखाउँदै विदेशका चिया उपभोक्ताले विभिन्न स्वादका चिया पिउन पाए पनि चिया बगान नै देख्न नपाएको बताउनुहुन्छ उदय ।

‘हाम्रा सुन्दर डाँडाकाँडाहरुमा बर्तुलाकार फैलिएका बगान, त्यहाँ पाइने खरायो लगायतका वन्यजन्तु, चराचुरुङ्गी, रैथाने संस्कृति, मौलिक परिकार पस्किने होमस्टे सेवा र पहाडका अनेका विशेषता ती चिया उपभोक्ताहरुका लागि दूर्लभ चिजहरु हुन् । त्यसैले चिया उत्पादन र व्यापार मात्र होइन चिया पर्यटनको त अझ धेरै सम्भावना छ नि १’ जर्मनी र युरोपका चिया बजारमा भिजिसक्नुभएका उद्यमी उदय सुनाउनुहुन्छ ।

चियाको बजार
इलामको चल्तीको बजार फिक्कलबाट सीमावर्ती बजार पशुपतिनगर जाने बाटोमा पर्छ ‘सुन्दरपानी’ भन्ने ठाउँ । त्यसकै नजिक छ उदयको चिया कम्पनी गोरखा टी कम्पनी । उदयले स्थानीय नामलाई नै आफ्नो उत्पादनको ‘ब्राण्ड नेम’ बनाउने निश्चय गर्नुभयो र राख्नुभयो यही नाम । यसले उहाँलाई केही समय तनाव पनि दियो तर सल्टियो बिस्तारै । विश्व बजारले रुचाएको चिया उत्पादन गरेकाले गोरखा टी कम्पनीको ‘सुन्दरपानी’ ले नेपालको सरहद छिचोल्यो र अहिले जर्मनीका प्राय भूभागमा यसको नाम पढ्न पाइने भएको छ ।
‘मेरो कम्पनीको उत्पादनको नाम भए पनि ‘सुन्दरपानी’ चियाले जर्मनी र अरु चिया बजारमा नेपालकै नाम चम्काइरहेको छ’ भन्नुहुन्छ उदय चापागाईं ।

किसानलाई सबै किसिमले सहयोग गर्नुपर्छ, उनीहरुका आवश्यकता पूरा गरिदिनुपर्छ अनिमात्र गुणस्तरीय चिया उत्पादन गर्न सकिन्छ भन्ने उदयको विश्वास छ । उहाँले चिया उत्पादक किसानलाई गाई पाल्न दिनुभएको छ भने प्रांगारिक मल उत्पादन गर्ने यसको मुख्य उदेश्य हो । प्रांगारिक मल आफैँसँग उपलब्ध भएपछि चिया बगानमा अरु मल र विषादी प्रयोग गर्नुपर्दैन, जसले गर्दा शुद्ध चिया उत्पादन गर्न सकिन्छ भन्ने अनुभव सँगाल्नुभएका उदयले यही रणनीतिबाट सफलता पनि पाएको सुनाउनुभयो ।

सन् १९८४ देखि चियाको पसल सुरु गरेर यो क्षेत्रमा प्रवेश गरेका उदयले एक दशकपछि नै इलाममा कारखाना सुरु गरेर आफैँ चियाको उत्पादन थाल्नुभयो । अध्ययन गरे, चीन गएनन् कि भारतको चिया क्षेत्र चक्कर मारेनन् कि श्रीलंकाको अनुभव पो सँगालेनन् कि । उदयले आफूलाई उद्यमीका रुपमा खारिन निकै दौडधुप गरेको पनि सुनाउनुभयो ।

करिब चार दशकको अनुभवमा उनले एउटा आत्मविश्वास हासिल गरेका छन् कि ‘शुद्ध चिया उत्पादनमा हामीलाई चुनौती दिनसक्ने कोही पनि छैन ।’

लामो अनुभवको निष्कर्ष सुनाउँदै उदय भन्नुहुन्छ,‘चियालाई व्यापारीकरण गर्ने भन्दा पनि विशिष्टिकरण गर्ने हो, किनभने बेलायत, युरोप र खाडी देशहरुमा विशिष्ट गुणस्तरको चियाको ठुलो माग छ, यो बढ्दै जानेछ । यस्तो चिया उत्पादन हुने नेपाल अनेक विशेषता बोकेको देश हो तर विश्वभर रहेका दूतावासहरुलाई आर्थिक एजेन्डामा काम गर्न दिएर मार्केटिङ गराउनुपर्छ, श्रीलंकाको अनुभव हामीलाई काम लाग्छ ।’-नेपाल न्यूज बैंक

(चिया उद्योगी एवम व्यवसायी उदय चापागाईँसँग गरिएको कुराकानीमा आधारित ।)

Share This:
सम्बन्धित खबर
Loading...