नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको पहिलो खेल आज

45

काठमाडौँ, १५ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेष्ट इण्डिजको ‘ए’ टोलीले शनिबार पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दै छन् । खेल दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरस्थित मैदानमा सुरु हुनेछ ।

नेपाल र वेष्ट इण्डिजबीच टी–२० खेलको श्रृंखलाको पाँच खेल हुने छ ।

नेपाल क्रिकेट संघ (क्यान)को तालिका अनुसार सिरिजका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलाइने छ । दोस्रो खेल आइतबार, तेस्रो मे १, चौथो मे २ र पाँचौँ खेल मे ४ तारिखमा हुने छ ।

क्यानले वेष्ट इण्डिज ‘ए’ सँग खेल्ने १६ सदस्यीय नेपाली टोलीको घोषणा बिहीबार नै गरिसकेको थियो भने टोलीमा शुक्रबार थप चार सदस्य थपिएर २० सदस्य पुगेको छ ।

आज रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिदा वेष्ट इण्डिजको कप्तानी रोस्टन चेजले गर्दैछन् ।

नेपाली टोलीका कप्तान पौडेलले एसिसि प्रिमियर कपमा टोलीले गरेको प्रर्दशन निराशाजनक भएको स्वीकार्दै वेष्ट इण्डिजको ‘ए’ टोली सँगको पाँच श्रृंखलामा उत्कृष्ट प्रर्दशन गर्ने बताएका छन् ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा वेष्ट इण्डिजको ‘ए’ टोलीसँग अभ्यास खेल आजबाट खेल्न लागेको हो । पहिलो पटक नेपाल भ्रमणमा मैत्रीपूर्ण खेल खेल्न आएको वेष्ट इण्डिजले पनि आगामी टी–२० विश्वकप खेल्दै छ ।

आइसिसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...