हैदरावाद बेंगलुरुसँग ३५ रनले पराजित

11

काठमाडौँ, १४ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदरावादले दोस्रो हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा तेस्रो स्थानमा रहेको हैदरावाद पुच्छारमा रहेको रोयल च्यालेन्जर्स बेंगलुरुसँग ३५ रनले पराजित भएको हो ।

पहिले ब्याटिङ गरेको फाफ डुप्लेसिसको कप्तानीमा रहेको आरसिबी २० ओभरमा सात विकेट गुमाएर २०६ रन बनाएको थियो । जवाफमा सनराइजर्स हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाउन सक्यो ।

२०७ रनको लक्ष्य पछ्याएको हैदरावादले खराव सुरुवात गरेको थियो । ब्याटिङ ओपन गर्न आएका ट्राभिस हेड एक रन मात्र बनाएर फर्किए । उनलाई पहिलो ओभरको अन्तिम बलमा विल ज्याकले आउट गरेका थिए । त्यसपछि अभिषेक शर्मा ३१ रन बनाएर आउट भए । यस खेलमा शाहबाज अहमदले ४० र प्याट कमिन्सले ३१ रन बनाए ।

यी तीन खेलाडीबाहेक हैदरावादका कुनै पनि खेलाडी क्रिजमा लामो समय विकेटमा टिक्न सकेनन् । आरसिबीविरुद्ध मार्करामले सात, नितिश १३, क्लासेनले ७, अब्दुल समदले १०, भुवनेश्वर कुमारले १३ र उनादकदले ८ रन बनाए ।

बेंगलुरुका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामरुन ग्रीनले दुई–दुई विकेट हात पारे । विल ज्याक र यश दयालले समान १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गर्न आएको बेंगलुरुले बलियो सुरुवात गरेको थियो । विराट कोहली र फाफ डुप्लेसिसबीच पहिलो विकेटका लागि ४८ रनको साझेदारी भएको थियो । कप्तान १२ बलमा २५ रन बनाएर आउट भए । कोहलीले यो सिजनको चौथो अर्धशतक बनाएका छन् । यसबाहेक रजत पाटीदार पनि चौथो नम्बरमा ब्याटिङ गर्न बलियो फर्ममा देखिएका छन् । उनले १९ बलमा अर्धशतक बनाए । यो सिजन उनको तेस्रो अर्धशतक हो ।

उनले २० बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ५० रन बनाएर आउट भएका थिए । विल ज्याकले ६ रन, क्यामरुन ग्रीन ३७, महिपाल लोमरले ७ रन, दिनेश कार्तिक ११ र स्वप्निल सिंहले १२ रन बनाए ।

हैदराबादका लागि जयदेव उनाडकटले तीन विकेट लिए । यसबाहेक टी नटराजनले दुई विकेट लिए । प्याट कमिन्स र मयंक मार्कण्डेले एक–एक सफलता हात पारे ।

आइपीएलमा आज कोलकाता नाइटराइडर्स र पञ्जाव किंग्स आमने सामने हुने छन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...