रुसी सेनामा भर्ती भएका आफन्त भन्छन्- नेपालको कूटनीतिक पहल नै कमजोर लाग्यो

12

काठमाडौँ, १० वैशाख । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरुले आफन्तको उद्धारको माग राख्दै सोमबार पनि सामूहिक अनशनलाई जारी राखेका छन् ।

शुक्रबारदेखि काठमाडौँको माइतीघरमा रुसी सेनामा भर्ती भएका आफन्तहरूको उद्धारको माग गरी अनशन बस्दै आएका उनीहरुले सोमबार पनि बालुवारटारस्थित रुसी राजदूतावास कार्यालय अगाडि अनशन बसेर उद्धारका लागि दबाब बढाएका हुन् ।

उनीहरूले सेनामा भर्ती भएकाहरूको उद्धार, रुसी सेनामा रहेका नेपालीको तथ्यांक सार्वजनिक, युद्धमा घाइते नेपालीको उचित उपचार, युक्रेनको कब्जामा रहेका पाँच नेपालीको उद्धार, मृतकको शव ल्याउन र क्षतिपूर्तीसहित रुसी सेनाबाट प्राप्त गर्ने सबैखाले सेवा सुविधा नेपाल ल्याउन व्यवस्थालगायतका विभिन्न १३ बुँदे माग राखेका छन् ।

चार दिनदेखि आमरण अनशनमा बसेकी पीडित कृतु भण्डारीले आफूहरु अनशन बसेको चार दिन भइसकेक्दा पनि सरकारले बेवास्ता गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘आजभन्दा चार दिन अगाडिदेखि हामी आमरण अनशनमा छौँ । मलगायत तीन जना अनशनमा छौँ । अन्यपनि रिले अनशनमा हुनुहुन्छ । आज चौथो दिनसम्म कसैले प्रतिक्रिया दिइको छैन । सरकारले यो सूचना पाएको छ वा छैन थाहा छैन । तर, हामीमाथि पूरै वेवास्ता भएको छ ।’

उहाँले युद्धग्रस्त क्षेत्रमा अवसरको खोजी गरेर गएका नेपालीहरुको उद्धार तथा जीवनरक्षा गर्नु सरकारका दायित्व रहेको भन्दै आफूहरुको माग सम्बोधनको लागि आग्रह गर्नुभयो ।

‘नेपालमा बस्ने वातावरण सिर्जना नहुँदा हाम्रा आफन्तले युद्धग्रस्त क्षेत्र रोज्न बाध्य भएका हुन् । जसरी गएको भएतापनि उहाँहरु नेपाली नागरिक हुनुहुन्छ । उहाँहरुको जीवनरक्षा गर्ने सरकारको न्यूनतम दायित्व हो । सरकारले उद्धार, मृतकको शव नेपाल ल्याइदिनुपर्‍यो । युद्धमा घाइते नेपालीको उचित उपचार हुनुपर्‍यो भन्ने अपिल गर्छु,’ उहाँले भन्नुभयो ।

त्यस्तै, आमरण अनशनमा रहनुभएकी अर्की पीडित चिरानी घर्तीको पनि गुनासो उस्तै छ । अनशन बसेको चार दिनसम्म पनि सबै निकायलाई जानकारी भएको तर कतैबाट सुनुवाइ नभएको उहाँ बताउनुहुन्छ । उहाँले माग पूरा नभएसम्म सडकमै बस्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अनशन बसेको चार दिन भयो हरेक निकायमा धाइसक्यौँ तर हाम्रो कुरा कसैले सुनेको जस्तो लागेन । हाम्रो माग पूरा नभएसम्म हामी सडकमै बस्छौँ । हाम्रा नेपालीलाई फर्काउनु पर्यो सरकारलाई यहि भन्न चाहन्छु ।’

त्यसैगरी अर्का पीडित कपिल रुम्बाले नेपालको कुटनीतिक पहल नै कमजोर रहेको आशंका व्यक्त गर्नुभयो । सबै ठाउँमा निवेदन दिएको र प्रभावकारी रुपमा कसैलेपनि माग सम्बोधन गर्न अगाडि नबढाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘परराष्ट्रदेखि सबै ठाउँमा निवेदन दिएको छौँ । खासै प्रभावकारी रुपमा उहाँहरु अगाडि बढेको जस्तो लागेन । कूटनीतिक पहल नै कमजोर जस्तो लाग्यो ।’ आन्दोलनकारीले विगत दुई महिनादेखि आवाज उठाउँदै आइरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...