काठमाडौँ, ९ वैशाख । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीले पत्रकारिता जगत राज्यको तेस्रो आँखा भएको बताउनुभएको छ ।
आइतबार काठमाडौँमा आयोजित नेपाल आदिवासी जनजाति महासंघको सम्मान कार्यक्रममा उहाँले पत्रकार जगतलाई राज्यले चौथो अंगको रुपमा हेरेको भएता पनि आफ्नो नजरमा पत्रकार संसारलाई सूचना सम्पे्रषण गराउने राज्यको तेस्रो आँखा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पत्रकार जगतलाई राज्यले चौथो अंगको हेरिन्छ तर चौथो अंग मात्र होइन । म त तेस्रो आँखा भन्छु । पत्रकारिताले संसारलाई सूचना सम्प्रेषणा गराउने अथवा जनताको हक अधिकारको विषयमा वकालत गराउने काम गर्ने भएकाले तेस्रो आँखा हो ।’
उहाँले सत्य तथ्यमा आधारित रहेर मात्र समाचार सम्प्रेषणका लागि सबै पत्रकारहरुमा अपिल गर्नुभयो । पत्रकारहरुको पारिश्रमिकको राम्रो व्यवस्था नहुँदा पत्रकारिता क्षेत्रमा समस्या रहेको उहाँको भनाइ छ ।