काठमाडौँ, ५ वैशाख । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पिएसजी)ले युुइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।
स्पेनिस क्लब बार्सिलोनामाथि ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दा समग्रमा पिएसजी ६–४ गोल अन्तरले विजयी हुँदै अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा ३–२ ले विजयी भएको बार्सिलोना दोस्रो लेगमा ४–१ ले पराजित भएपछि क्वाटरफाइनलबाटै बिदा भएको हो ।
बार्सिलोनाको मैदानमा घरेलु टोलीले राफिनाको गोलमा अग्रता लिएको थियो । लामिन यमालको पासमा राफिनाले गोल गरेपछि बार्सिलोना सहज अवस्थामा देखिएको थियो । तर, २९औँ मिनेटमा रोनाल्ड आराउहो रातो कार्ड पाउँदै मैदान छाडेपछि त्यसको असर बार्सिलोनाले खेल अवधिभर नै भोगेको थियो ।
१० खेलाडीमा सीमित भएको बार्सिलोनामाथि क्रमशः हाबी हुँदै पिएसजीले ४०औँ मिनेटमा बराबरी गोल गरेको थियो । ओस्मन डेम्बेलेले ब्राड्ले बारकोलाको पासमा गोल गर्दै पिपीएसजीलाई पहिलो हाफमै खेलमा फर्काए ।
५४औँ मिनेटमा असरफ हकिमीको पासमा भिटिन्हाले गोल गरेपछि पिएसजीले २–१ को अग्रता लिँदा पहिलो लेगको नतिजाका कारण समग्रमा ४–४ को अवस्थ पुगेको थियो । त्यसपछि केलियन एम्बाप्पेले ६१औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै खेल ३–१ ले अघि बढाएका थिए ।
उनै एम्बाप्पेले ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पिएसजीले दोस्रो लेगमा ४–१ को शानदार जित दर्ता गरेको हो । अब सेमिफाइनलमा पिएसजीले बोरुसिया डर्टमन्डसँग खेल्ने छ । बोरुसिया डर्टमन्डले एट्लेटिको मड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।