सुनसरी, ३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले स्वस्थ, सभ्य, असल र संस्कारी समाज बनाउनका लागि आध्यात्मिक शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
सुनसरीको धार्मिक एवं पर्यटकीयस्थल चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्नुहुँदै मन्त्री चौधरीले धार्मिक सद्भाव र आध्यात्मिक चेतनाले वर्तमान समाजलाई परिवर्तन गर्न सक्ने बताउनुभयो ।
नेपाली भूमि हिन्दु सनातनीहरूको ठुलो पावन भूमि रहेको भन्दै मन्त्री चौधरीले इतिहासको कालखण्डमा लिखित हिन्दु सनातनीमा मात्र नभएर अनेक इतिहासहरूले कोरिएको कौशिक नदीको नाम जोडिएको भूमिका हिसाबले पनि चतरा धाम महत्त्वपूर्ण रहेको बताउनुभयो ।
‘हामी धर्म, कर्म, आध्यात्मिक चेतनाले खाली हामी परमधाम, परमपिता अथवा स्वर्गमा जान्छौँ भन्ने आशा राख्छौँ, तर त्यतिमात्रै होइन । अहिलेको समाज धेरै तडकभडक, धेरै प्रतिस्पर्धात्मक छ, अस्वस्थ प्रतिस्पर्धा छु,’ उनले भनिन्, ‘यसले अस्वस्थ प्रतिस्पर्धालाई चिर्न मद्दत पुर्याउँछ । त्यसकारण हरेक व्यक्ति अनुशासनमा रहने हो भने धार्मिक हुनु जरुरी छ ।’
भारतमा पनि १२ वर्षमा ठुलो कुम्भ मेला लाग्ने गरेको प्रसंग उल्लेख गर्नुहुँदै मन्त्री चौधरीले यस्ता धार्मिक मेलाहरूले मुलुकको पर्यटकीयसँगै आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले बराहक्षेत्र र चतरा एक महत्वपूर्ण धार्मिक गन्तव्य भएको भन्दै यहाँको धार्मिक गन्तव्यहरूको विकास र प्रवद्र्धन गर्नका निम्ति तीन वटै तहका सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।