काठमाडौँ, २ वैशाख । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले तीन दशक पुरानो सवारी तथा यातायात व्यवस्थापन ऐनलाई संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विषेश अभियान – २०८१’ को समुद्घाटन कार्यक्रममा डंगोलले सवारी दुर्घटना रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिनुहुँदै त्यसमा नागरिकको तहमा सचेतना पुर्याउनुपर्ने तथा कानुनी रुपमा ऐन समय सान्दर्भिक बनाउनुपर्ने बताउनुभयो ।
सरकारले युएनको ग्लोबल रोड सेफ्टीमा २०३० सम्ममा ५० प्रतिशत सवारी दुर्घटना कम गर्ने भनेर गरेको प्रतिबद्धता स्मरण गराउँदै डंगोलले सडक दुर्घटना घट्नुको साटो तथ्यांकमा बढेको उल्लेख गर्नुहुँदै प्रतिबद्धता कार्यान्वयनको पक्ष बलियो बताउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नीतिगत रुपमा हेर्दा सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ तीस वर्ष अगाडिको ऐन लिएर हामी आज सडक सुरक्षाको कुरा गर्दै छौँ । यो ऐन हामीले अब संशोधन गर्नुपर्छ । अहिलेको आवश्यकता र तीस वर्ष पहिलेको आवश्यकता उस्तै छैन ।’
ऐन बनेको तीस वर्षमा सडकमा सवारी साधनको संख्या ठुलो संख्यामा बढेकाले पनि समयअनुसार अघि बढ्दै ऐनमा पुर्नविचार गर्नुपर्ने धारणा उहाँको छ । गत आर्थिक वर्षमा मात्रै सडक दुर्घटनामा २ हजार ३७६ जनाले ज्यान गुमाएको विवरण उल्लेख गर्नुहुँदै उहाँले सडकमा चालकले नियमविरुद्ध ओभरटेक गरेर जाने प्रवृतिको अन्त्य गर्नुपर्ने बताउनुभयो । ट्राफिक व्यवस्थापनमा हुने कमीकमजोरीलाई सुधार गर्दै ट्राफिक प्रहरी अझ जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।