शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राख्ने शिक्षामन्त्रीको दाबी

17

काठमाडौँ, २३ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षालाई दलीय राजनीतिमुक्त बनाउनको लागि कार्यदल बनाएर काम सुरु गरिएको जानकारी दिनुभएको छ ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्नुहँदै उहाँले राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी समेत दिनुभयो । सदस्यता त्याग्न सार्वजनिक रूपमा आह्वान गरिएको र त्यस्ता शिक्षकहरूका बारेमा सूचना दिन आह्वान गरिएको पनि उहाँले बताउनुभयो ।

त्यस्तै, शिक्षा ऐन, २०२८, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले समेत शिक्षकलाई दलको सदस्य बन्न नपाउने व्यवस्था गरेको उल्लेख गर्नुहुँदै दलीय सदस्यता त्याग्नुपर्ने उहाँको भनाइ थियो ।

उच्च अदालत पाटनको २०७८, मंसिर १९ गतेको राजनीतिक दलमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयलाई आदेश दिएको उल्लेख गर्नुहुँदै उहाँले राजनीतिक दलको सदस्यता लिने शिक्षकलाई कारबाही अनिवार्य भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा प्रशस्त सुधारको प्रयास गरिरहेको जानकारी दिनुभयो । यसको साथै उच्च शिक्षामा विभिन्न कार्यदलहरु गठन भएको पनि उहाँले जानकारी दिनुभयो । ‘ छात्रवृत्तिसम्बन्धी कानुनको पुनरावलोकन गर्न, कर्मचारी सरुवा मापदण्ड कायम गरेर लागु गर्न साथै जिल्ला इकाई प्रमुखलाई पारदर्शी बनाउनको लागि मापदण्ड तयार गरेका छौँ,’ उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले स्थानीय सरकार र प्रदेश सरकारका समस्याका बारेमा सहजीकरण गर्दै अघि बढेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

कानुनका क्षेत्रमा पनि धेरै परिवर्तन गरेको जानकारी दिनुहुँदै मन्त्री श्रेष्ठले भन्नुभयो,‘मन्त्रालयको जतिपनि कानुनहरु छन ति जनतामाझ राख्ने र जनताबाट सुझाव लिने काम गरेका छौँ । जसका कारण सेवा दिने र लिनेबीच राम्रो सम्बन्ध स्थापित गर्ने अभियानमा छौँ ।’

मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको संख्या धेरै भएपनि उत्तिर्ण हुनेको संख्या न्यून रहेको उल्लेख गर्नुहुँदै त्यसमा सुधार गर्नुपर्ने औँल्याउनुभयो । शिक्षामा भएको लगानी अनुसार परिणाम दिन नसकेको उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...