काठमाडौँ, २३ चैत । न्याय परिषद्ले न्याय सेवाअन्तर्गतका १० कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को बिहीबारको बैठकले नियुक्ति सिफारिस गरेको हो ।
जिल्ला न्यायाधीशको सिफारिसमा परेकाहरुमा दोलखाको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला, सर्वोच्च अदालतका इजलास अधिकृत नरेन्द्रप्रसाद बूढा, फणेश्वरी घिमिरे, उपरजिष्ट्रार महेन्द्रबहादुर कार्की, उच्च अदालत विराटनगरको इलाम इजलासका रजिष्ट्रार जीवनकुमार भण्डारी हुनुहुन्छ ।
यस्तै, उच्च अदालत पोखराको बागलुङ इजलासका रजिष्ट्रार मुकुन्द आचार्य, महान्यायाधिवक्ताको कार्यालयकी उपमहान्यायाधिवक्ता विमला रेग्मी, बाजुरा जिल्ला अदालतका स्रेष्तेदार पुष्पराज पाण्डे, पाल्पा जिल्ला अदालतका स्रेष्तेदार शिवबहादुर थापा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका कानुन अधिकृत दीपक घिमिरे सिफारिसमा पर्नुभएको छ ।
यस्तै, परिषद्ले केही न्यायाधीशको सरुवा सिफारिस पनि गरेको छ । उच्च अदालत विराटनगरको धनकुटा इजलासका न्यायाधीश रत्नबहादुर वागचन्दलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज र उच्च अदालत विराटनगरका न्यायाधीश गणेशप्रसाद बराललाई वागचन्दका ठाउँमा धनकुटा सिफारिस गरेको छ ।
मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेललाई भक्तपुर जिल्ला अदालत र रौतहट जिल्ला अदालतकी न्यायाधीश पूर्णिमा कोइरालालाई सञ्जेलका ठाउँमा मकवानपुर सरुवा सिफारिस गरेको छ ।