काठमाडौँ, १६ चैत । उपसभामुख इन्दिरा रानालाई संसद् चलाउने अधिकार नदिइ प्रतिनिधि सभा बैठक नै १० दिन रोकेर स्वीट्जरल्यान्ड जानुभएका सभामुख देवराज घिमिरेले उक्त कार्यले संसदीय गतिविधिहरुमा असर नपरेको बताउनुभएको छ । घिमिरेले सभामा नेपालको तर्फबाट विश्वमा देखा परेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको जानकारी गराउनुभयो ।
जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आइपियू)को १४८औँ महासभामा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासभामा भएका गतिविधिबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सभामुखले १० दिन संसद रोकिँदा त्यसले संसदीय गतिविधिमा असर नपुगेको जिकिर गर्नुभयो ।
उहाँले आफू जेनेभामा हुँदा पनि आवश्यकताअनुसार सल्लाह र छलफल गरेको भन्दै थप्नुभयो,‘संसदीय गतिविधिहरु संसदीय समितिमार्फत् बैठकहरु गर्ने, त्यहाँ आएका विधेयकहरुमाथि छलफलहरु चलाउने कामहरु भइरहेकै थियो ।’उहाँले १० दिनसम्म संसद रोकिँदा त्यसले विषयत समितिका कार्य अलपत्र नपरेको दाबी गर्नुभयो ।
‘समितिका विधेयकहरु जसरी अलपत्र परे भनेर तपाईंहरु बुझ्दै हुनुहुन्छ त्यस्तो अलपत्र केही परेको छैन । विषयगत समितिमा रहेका विषयहरुमा छलफलहरु बहसहरु भैरहेका छन् । टुंगिएका जति विषयहरुलाई टुंग्याउँदै जाने र टुंगो लाग्न बाँकी रहेका कुराहरुलाई अब टुंग्याउने भन्ने गरी नै गइरहेको छ, त्यस्तो छैन । हिजोपनि केही दिन सभा रोकिने केही दिन चल्ने हुन्थ्यो अब पनि त्यही क्रममा राष्ट्रिय सभा पनि चल्ने क्रममै छ,’ घिमिरेले भन्नुभयो ।
घिमिरेले आइपियूको महासभामा विश्वको हालको परिस्थितिमा सांसदहरुको डिप्लोमेसीले सद्भाव र शान्ति विकास गर्न के गर्न सकिन्छ र त्यसको महत्व के छ भन्ने विषयमा प्रभावकारी रुपमा आवाज उठाएको बताउनुभयो ।
सभामा नेपालको तर्फबाट प्रभावकारी ढंगबाट सहभागिता जनाएको उल्लेख गर्नुहुँदै घिमिरेले सभामा संसदहरुको डिप्लोमेसी, अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरू गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्व छ ? भन्नेलगायतका विषयमा आधारित भएर छलफल गरेको जानकारी दिनुभयो ।
१४२ भन्दा बढी देशका सांसदहरूको प्रतिनिधित्व रहेका सभामा नेपालले जलवायु परिवर्तनलगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कूटनीतिक ढंगबाट सांसदले खेल्ने भूमिका बारेमा कुरा उठाएको उहाँले बताउनुभयो ।
साथै नन एलाइमेण्ट मोमेण्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको र अहिले देखापरेका चुनौती, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्नेलगायतका विषयमा छलफल भएको उल्लेख गर्नुभयो ।
सांसदलाई आइपिओमार्फत कसरी प्रभावकारी पार्ने, क्षेत्रीय तहका सम्भव भएका भेलाहरू नेपालले पनि आयोजना गर्न सक्ने विषयमा छलफल गरेको भनाइ घिमिरेको छ ।
पाँच दिनसम्म चलेको उक्त सभामा नेपालले सहभागी हुन गत बिहीबार साँझ घिमिरेको नेतृत्वको टोलीमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई,नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासे सामेल हुनुहुन्थ्यो ।