काठमाडौँ, १४ चैत । स्कुल र कलेजका किताबमा पोख्त भएर आफ्नै व्यक्तिगत काम पनि गर्न नसक्ने युवाले लिएको शिक्षा व्यवहारिक नहुने उपसभामुख इन्दिरा राना मगरले बताउनुभएको छ ।
राष्ट्रिय नाचघर जमलमा मंगलबार आयोजित राष्ट्रिय फोटोपत्रकार समूहको वार्षिक भित्तेपात्रो विमोचन, सिजन मिडियाको मिस इकलेज–२०२४ र समाज सेवाका क्षेत्रमा क्रियाशील व्यक्तित्वको सम्मान कार्यक्रममा उहाँले बाँच्न सिकाउने व्यवहारिक शिक्षामा जोड दिनुभएको हो ।
‘शिक्षा परिवारबाट सुरु हुन्छ, अभिभावकबाट लिन सकिन्छ । हातमा डिग्रीको सर्टिफिकेट लिएर आफ्नो लुगा धुन र खाना पकाउन पनि नजान्ने हो भने शिक्षा व्यवहारिक मान्न सकिँदैन,’ उहाँले भन्नुभयो, ‘कडा परिश्रम, सरलता र इमानदारिता हुनुर्छ ।’ युवाहरुले अहिले विभिन्न मञ्चमार्फत् आफ्नो व्यक्तित्व विकासको बाटो खोज्नुलाई सहज रुपमा लिनुपर्ने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राज्यका आँखामा पर्न नसकेकालाई सम्मान गरेर आयोजक संस्थाले उदाहारणीय काम गरेको बताउनुभयो । ‘सामाजिक काम गर्नेको सम्मान गर्न सके समाजले हामीलाई सममन गर्छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा काम गरेकाहरुलाई सम्मान गरिएको थियो भने इकलेजका सहभागी १६ जनाले प्रतिभा प्रस्तुत गरेका थिए ।