मौसम विभागले भन्यो–‘पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्सहितको वर्षा हुनसक्छ, सतर्कता अपनाउनु’

12

काठमाडौँ, १३ चैत । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार, अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज रातिती भने कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ ।

मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...