मह जोडीलाई आदर्श नागरिक सम्मान

17

झापा, ८ चैत । झापाको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ । प्रतिष्ठानले बिर्तामोडमा बुधबार एक समारोहको आयोजना गर्दै मह जोडीलाई ‘आदर्श नागरिक सम्मान–२०८०’ प्रदान गरेको हो ।

प्रतिष्ठानले पहिलो पटक यो सम्मान तथा पुरस्कार प्रदान गरेको सचिव लक्ष्मण ढकालले जानकारी दिनुभयो । महजोडीलाई संयुक्त रुपमा १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान प्रदान गरिएको हो । भारतको दार्जिलिङका प्रख्यात नाटककार सीके श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको थियो ।

पुरस्कृत प्रतिभा हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफूबीचको मित्रताको लोगो मरणोपरान्त सम्झन लायक बनाउने उद्घोष गर्नुभयो । उहाँले आफू आदर्श नागरिक भएको थाहै नपाई यस्तो पुरस्कार पाएको टिप्पणी गर्नुभयो ।

मदनकृष्ण श्रेष्ठसँगको ४४ वर्षको सहयात्राले आफूलाई यो स्थानमा पुर्‍याएको भन्दै उहाँले मित्रताको दीर्घकालिन नमुना हुन पाएकोमा गौरव महसुस गरेको बताउनुभयो ।

अर्का प्रतिभा मदनकृष्ण श्रेष्ठले हरिवंश आचार्य उहाँले अहिलेसम्म पाएकोमध्ये सबैभन्दा ठुलो पुरस्कार रहेको बताउनुभयो । उहाँले आदर्श नागरिक सम्मानका रुपमा आफूलाई सम्मनित गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि सिके श्रेष्ठले भाषा, कला, साहित्यलाई देशको सीमाले छेक्न नसक्ने बताउनुभयो । उहाँले ३२ वर्षअघि सिक्किममा मह जोडीलाई सम्मान गर्ने अवसर पाएको स्मरण गर्दै यो पटक त्यही अवसर दोहोरिएको बताउनुभयो । श्रेष्ठले मह जोडी कलाकार वा व्यक्तिमात्र नभएर प्रतिष्ठान भएको बताउनुभयो ।

नेपाल कमजोर भयो भने अरु देशमा रहेका नेपालीभाषीले पनि दुःख पाउने उल्लेख उहाँले गर्नुभयो । ‘नेपाल जरा हो, हामी त फल र फूल मात्र हौँ,’ उहाँले भन्नुभयो, ‘जरा नै दूषित भयो भने फल र फूलको अवस्था ठिक हुँदैन, त्यसकारण जरा सधैँ सही हुनु पर्छ ।’ नेपालले प्रगति गर्दा अरु देशमा रहेका नेपालीभाषीले गौरव गर्ने गरेको उहाँको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...