दर्शकको चाप बढिरहेको देख्दा उत्साहित छु : निर्देशक सुवेदी

33

काठमाडौँ, २ चैत । गत शुक्रबार रिलिज भएको नेपाली चलचित्र ‘रंगेली’ सफलताका साथ दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता रिलिज भएका सबै हलहरूमा केही सङ्ख्या कम गरी यस हप्ता पनि रंगेलीलाई शो प्राप्त भएका छन् ।

“पहिलो हप्ताको अन्त्यतिर आइपुग्दा दर्शकको उपस्थिति झन् बढेको थियो । नेपाली चलचित्र हेर्ने दर्शक निकै चलाख हुनुभएको महसुस गरेँ । चलचित्रको प्रतिक्रिया हेरेर मात्र हल पुग्ने निर्णयमा पुग्ने गरेको भेटियो । म निकै उत्साहित छु,” निर्देशक अर्जुन सुवेदीले भन्नुभयो ।

सुवेदीले पहिलो हप्ताको अन्तिम दिन बिहीबार अधिकांश शोहरुमा ८० प्रतिशत बढी अकुपेन्सी रहेको उल्लेख गर्नुभयो ।

रिलिजको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरिरहेको रंगेलीको शो नेपाल बाहिरबाट पनि आइरहेको सुवेदीले बताउनुभयो ।

यो चलचित्र अमेरिका, क्यानडा, जापान र कोरियामा पहिले नै बिक्री भइसकेको थियो । नेपालमा मन पराइएपछि मलेसिया, दुबई, कतार, बहराइन, साउदी, ओमानमा हालै मात्र बिक्री भएको सुवेदीले बताउनुभयो । अष्ट्रेलिया, युरोप, हङकङ, भारतलगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग रिलिजका लागि अन्तिम चरणमा पुगेको सुवेदीको भनाइ छ ।

दर्शकबाट चलचित्र केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो । चलचित्रको रनटाइम कम भएपछि दर्शकले झनै मनोरञ्जन गरेको निर्देशक सुवेदीको बुझाइ छ ।

अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् ।

रंगेलीमा दयाहाङ राईसँगै मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जितेन्द्र खतिवडा र अनुज जंग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सहनिर्माता हुन् । विवेक खड्का (योलो) एसोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...