काठमाडौँ, ३० फागुन । पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानले परराष्ट्र मन्त्रालयलाई रुसी सेनामा रहेका नेपाली युवाहरुको विवरणसहित ज्ञापनपत्र बुझाएको छ ।
परराष्ट्र मन्त्रालयमा मंगलबार सचेतना अभियानका तर्फबाट कृतु भण्डारीले ज्ञापनपत्र बुझाउनुभएको हो ।
युद्धमा कुनै साइनो सम्बन्ध नभएको नेपालका नागरिकहरुले अनाहकमा मृत्युवरण गर्नुपर्ने अवस्था, बाँचेकाहरु चाहेर पनि स्वदेश फर्कन नपाउने अवस्था, जबरजस्ती युद्धमा होमिनुपर्ने बाध्यता, युद्धबन्दीको रुपमा नरकीय जीवन व्यतित गर्न बाध्य नेपालीको अवस्थालाई तत्काल सम्बोधन गर्न नेपाल सरकार थप क्रियाशील हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
रुसी सेनामा कार्यरत रहेर मृत्युवरण गरेका, बेपत्ता भएका र असहज स्थितिबाट गुज्रिरहेका नेपाली नागरिकका परिवारको राहतका लागि र उनीहरुलाई स्वदेश फिर्ताका लागि संघ, प्रदेश र स्थानीय सरकारका सबै संयन्त्रलाई परिचालनका लागि भण्डारीले आग्रह पनि गर्नुभएको छ ।
अभियानद्वारा जारी विज्ञप्तिअनुसार हालसम्म ६२० जनाको विवरण संकलन गरिएको छ । जसमध्ये पारिवारिक स्रोतले बताएअनुसार मृत्यु भएका २४, घाइते, बेपत्ता वा सम्पर्कविहीन समेत गरी संख्या धेरै हुनसक्ने अनुमान छ ।
रुसमा एक वर्ष काम गरेका सैनिकलाई त्यहीँको नागरिक भएर परिवारका साथ बस्न पाइने प्रलोभन, छोटो समय काम गर्दा रुसी राहदानी प्राप्त गर्ने अवसरको लोभ, महिनामा ४ लाखभन्दा बढी कमाइ हुने विचौलियाहरुको आश्वासनलगायत प्रलोभनमा परी दलाललाई प्रतिव्यक्ति ६ देखि १८ लाख रुपैयाँसम्म कमिसन बुझाएर नेपाली युवा रुसी सेनामा भर्ती भएका छन् ।
भर्ती भएकालाई सकुशल फर्काउनुका साथै मृतकको शव नेपाल ल्याउन कूटनीतिक पहल र परिवारलाई क्षतिपूर्ति दिलाउन सरकारलाई आग्रह गरिएको छ ।
प्रलोभनमा पारी रुसी सेनामा नेपाली युवा पुर्याउन संलग्न विचौलियामाथि कारबाही, अध्यागमनमा हेल्प डेक्स राखेर युवालाई रुस जानबाट रोक्ने, रुस र युक्रेन सरकारसँग कूटनीतिक पहल गर्न मन्त्रीको नेतृत्वमा टोली परिचालन गर्न अभियानले आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यो एकदमै संवेदनशील विषय भएको उल्लेख गर्नुभयो । यसमा सरकारको ध्यानाकर्षण भएको भन्दै उहाँले रुसी सेनामा रहेका नेपालीहरुको अवस्थाबारे बुझि उद्धार गर्ने र ज्यान गुमाएकाका आफन्तलाई राहतको व्यवस्था गर्ने आश्वासन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो एकदमै संवेदनशील विषय हो । हाम्रो मुख्य ध्यान कसरी रुसी सेनामा रहेका सेनाहरुबारे जानकारी लिएर निकाल्ने भन्नेछ । यसका लागि द्धीपक्षीय वार्ता सुरु गरेका छौँ ।’
कतिपयले ज्यान गुमाएको, बेपत्ता रहेको, कतिपय रुसी सेनामै रहेको र सम्पर्कमा रहेका नागरिक रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यस विषयमा रुसी विदेशमन्त्रीसँग लिखित रुपमा नेपालीलाई फिर्ता गर्न पत्राचार गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘रुसी सेनामा गएर जीवन गुमाएकाको परिवार क्षतिपूर्ति दिलाउन चासो दिएका छौँ । रुसी सेनामा कति जना नेपाली सेना छन् यसको विवरण माग गरेका छौं । सबै नेपाली नागरिक, जो रुसी सेनामा छन् उनीहरुलाई फिर्ता गर्न माग गरेका छौँ ।’
नेपाली नागरिकहरुको सम्झौता रद्द गर्न रुसस्थित नेपाली दूतावासले रुसी विदेशमन्त्रीसँग छलफल गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।