नारायण दाहाल : प्रचण्डको वफादारीको पुरस्कार राष्ट्रिय सभा

समाचार टिप्पणी

32

काठमाडौँ, २९ फागुन । नारायणप्रसाद दाहाल संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । मंगलबार भएको निर्वाचनमा नेपाली कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल राष्ट्रिय सभाको नेतृत्वमा पुग्नुभएको हो एमालेसहितको गठबन्धका साझा उम्मेदवार दाहालले ३९ मत पाउँदा कांग्रेसका शर्माको पक्षमा १७ मत पर्‍यो ।

दाहाल यसअघि रामनारायण बिडारीको अवकाशपछि रिक्त भएको स्थानमा राष्ट्रिय सभाको सदस्य मनोनीत हुनुभएको थियो । दाहाललाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको थियो ।

उहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साख्यै भाइ नभए पनि उहाँका घनिष्ठ सहयोगी मानिनुहुन्छ । विगतमा पनि विज्ञका रुपमा आफूसँग नजिक राखेर प्रचण्डले नारायणलाई सत्ता बाहिर रहन दिनुभएको थिएन ।

यसपटक भने उहाँलाई संसद्को माथिल्लो सदनको नेतृत्वमा स्थापित गरेर संवैधानिक परिषदमा आफूलाई सहज स्थिति बनाउने उद्देश्यमा प्रधानमन्त्री दाहाल सफल हुनुभएको छ ।

विसं.२०१२ चैत १६ गते कास्कीको तत्कालीन ढिकुरपोखरी गाउँ विकास समितिमा कुलप्रसाद दाहाल र देउरुपाको पहिलो सन्तान भएर जन्मिएका हुन् । नारायण २०१९ सालमा सात वर्षको उमेरमा बसाईं सरेर चितवन शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट स्कुले शिक्षा पूरा गरेपछि विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय हुनुभएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित पुस्तकहरु पढेर कम्युनिस्ट आन्दोलनप्रति आकर्षित बन्नुभएका उहाँ २०२७ साल जेठ १ गते अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डसँगै दुई घन्टा हिँडेर जुलुस र कार्यक्रममा सहभागी हुनुभएको थियो । नारायण र प्रचण्डले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिनुभएको थियो । स्कुल पढ्दै अनेरास्ववियूमा आबद्ध उहाँ २०३१ सालमा वीरेन्द्र क्याम्पस भरतपुरमा पढ्दा नै नेपाल कम्युनिस्ट पार्टी पुष्पलाल समूहको पार्टी सदस्यता लिनुभएको थियो ।

मोहनविक्रम सिंहसँग निकट भएर काम गर्नुभएका उहाँले २०३६ सालमा डिप्लोमा पास गर्नुभयो । प्रचण्डकै सल्लाहमा भारत प्रवासमा पार्टी काम गर्न पुग्नुभएका उहाँले अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सचिवको रुपमा काम गर्नुभएको थियो ।

२०३७ सालदेखि पार्टीको पूर्णकालीन सदस्य बन्नुभएका उहाँले १८ वर्ष अखिल भारत एकता समाज र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । भारतको २६ राज्यमा ३२ वटा पार्टी कमिटी गठन गरी सक्रिय बनाएका नारायणले संगठनका लागि ठुलो योगदान गरेको भनेर प्रशंसा गर्ने गरिन्छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ नारायणलाई प्रचण्डका नाताभित्रका नेता भनेर बुझ्न नहुने बताउनुहुन्छ ।

‘०२७ सालदेखि विद्यार्थी राजनीति र ०३१ सालबाट पार्टीको पूर्णकालीन राजनीति गर्दै आएका, जनयुद्धमा जीवन सँगिनी, दुई छोराहरुलगायत सपरिवार पूर्णकालीन बनाएर राजनीतिमै सक्रिय राखेका हुन्,’ उहाँले भन्नुभएको छ ।

२०४६ सालको जनआन्दोलनको बेला नेपाल फर्किनुभएका उहाँ परिवारसहित २०४७ सालमै पार्टी प्रवासको कामलाई गतिशील बनाउन भारत नै जानुभएको थियो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन (रिम)को दक्षिण एसियाली शाखा कमिटीको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका उहाँले तीन दशक प्रवास कमिटीमा बसेर काम गरेको अनुभव संगाल्नुभएको छ । २०५७ सालदेखि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाएर खुलारुपमा संगठन विस्तार र परिचालन गर्नुभएका उहाँले २०५९ सालदेखि भारतमै पनि भूमिगत रुपमा काम गर्नुभएको थियो ।

२०६० सालमा पार्टी निर्देशनमै नेपाल आउनुभएका नारायणले भेरी–कर्णाली क्षेत्रमा काम गरी तीन जिल्लाको पार्टी कमाण्ड सम्हाल्नुभएको थियो । भारतमा रहँदा संगठन विस्तार र परिचालनको साथै जनयुद्ध सुरु हुनुपूर्व भारतमा क्रियाशील भूमिगत कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्ध स्थापित गराउने, नेपालमा रहेका पार्टी कार्यकर्तालाई भारतमा झिकाई भौतिक र प्राविधिक तालिम दिलाउने, उनीहरुको सुरक्षा गर्ने र आर्थिक संकलन गर्ने काम गर्नुभएको थियो ।

रोचक पक्ष के छ भने नारायणले जनयुद्धमा आवश्यक हातहतियार उपलब्ध गराउने र पार्टी कार्यकर्तालाई प्राविधिक हिसाबले सुरक्षित बनाउने काममा उल्लेख्य भूमिका निर्वाह गरेको बताइन्छ । सम्भवतः उहाँकै अगुवाइमा भारतबाट नेपाल हतियार भित्र्याउने काम भएको थियो ।

भेरी–कर्णाली राज्य समिति, कास्की इञ्चार्ज, ताम्सालिङ र नेवाः राज्य कमिटीको महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गर्नुभएका उहाँ राजनीतिको सबै समय प्रचण्डनिकट भएर काम गरेको पाइन्छ ।

संविधान सभामार्फत नयाँ संविधान बनाउने उद्देश्य पुरा गर्न गठन गरिएको अन्तरिम व्यवस्थापिका संसद् २०६३ सालमा सदस्य बन्नुभएका उहाँ २०६४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

अध्यक्ष प्रचण्डको दोस्रो प्रधानमन्त्रीकालमा उहाँले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको भूमिकामा रहेर काम गर्नुभएको थियो । प्रचण्डसँगको लामो सहयात्रापछि उहाँकै जोडबलमा राष्ट्रिय सभाको अध्यक्ष चुनिनुभएका नारायणले अब भने संसद्को माथिल्लो सदनको नेतृत्व सम्हालेर आफूलाई सफल बनाउने परीक्षा भने उत्तीर्ण हुन बाँकी छ । -नेपाल न्युज बैंक

Share This:
सम्बन्धित खबर
Loading...