झापा गोल्डकप : चर्च ब्वाइजको विजयी सुरुवात

104

बिर्तामोड, २० फागुन । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्डकपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । आइतबारको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । पुलिस भने यसअघिका ५ वटै संस्करणमा पहिलो चरणमै घर फर्किएको थियो । पुलिस यो पटक पनि पहिलो चरणमै घर फर्किन बाध्य बन्यो ।

आइतबारको खेलमा दुवै टिमको मिडफिल्ड चल्न सकेन । निर्धारित ९० मिनेटमा पुलिसले तीन र चर्च ब्वाइजले एउटा मात्र डेञ्जर मुभ बनाउन सकेको थियो । तर, डिफेन्स लाइन र गोलकिपरको केही गल्तीका कारण पुलिस दबाबमा परेको थियो ।

खेलको ५३औँ मिनेटमा चर्च ब्वाइजका अवयोमी अबयोमीलाई पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठले पेनाल्टी एरियामा फाउल गरेका थिए । त्यसपछि पाएको पेनाल्टीलाई अबयोमीले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।

खेलको ७८औँ मिनेटमा अबयोमीको क्रस पासमा समिर तामाङले गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए । पेनाल्टी एरियामा अनमार्क रहेका रहेका तामाङले दायाँ बार च्याप्दै गरेको प्रहारले जाली चुमेको थियो ।
खेलको ६५औँ मिनेटमा अबयोमीले अग्रता दोब्बर गर्ने अवसर गुमाएका थिए । पेनाल्टी एरियामा पाएको बललाई उनको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो ।

खेलको ४३औँ मिनेटमा पुलिसका पेनाल्टी एरिया नजिकै पुलिसका उज्वल राईलाई चर्च ब्वाइजका खेलाडीले लडाएपछि पुलिसले फ्री किक पाएको थियो । सञ्जीव लामाले गरेको प्रहार विपक्षी गोलरक्षक दीप कार्कीले पञ्च गरेर बचाए । ६९औँ मिनेटमा पेनाल्टी एरियामा पाएको अवसर पुलिसले खेर फालेको थियो । विकास बिकको पावरफुल प्रहार पोष्टमा लागेर रिबाउन्स भएको थियो । रिबाउन्स बललाई आशिष राईले प्रहार गर्दा बारको नजिकैबाट बाहिरिएपछि पुलिस बराबरी गर्ने अवसरबाट बञ्चित भएको थियो ।

खेलको म्यान प्लेयर अफ द म्याच चर्च ब्वाइजका अवयोमी घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए । सोमबार हुने पहिलो क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ एफसी र सर्लाहीको बागमती युवा क्लबबीच हुने छ ।

फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्ने छ । गोल्डकपमा झापा ११ एफसीसहित १० टोलीको सहभागिता छ ।

Share This:
सम्बन्धित खबर
Loading...