काठमाडौँ, १३ फागुन । घरेलु मैदानमा भएको आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको छ ।
जितका लागि नेपालले दिएको १७३ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले ३७.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा विक्रमजित सिंहले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४६ रन बनाउदा माइकल लेभिटले ३९ रन र म्याक्स ओडाउडले २८ रन जोडे ।
नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिह ऐरीले समान एक-एक विकेट लिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रनको योगफल बनाउन सक्यो ।
नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै ८ चौकाको मद्धतमा ६६ रन बनाए । त्यस्तै, करण केसीले २६ रन बनाउदा आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झा ५ रन बनाए ।
नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीनरतीन विकेट लिए । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।
यस जितसँगै नेदरल्यान्ड्सले प्रतियोगितामा ४ अंक जोडेको छ । नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा सात विकेटले हराएको थियो भने दोस्रो खेलमा नामिबियासँग २४ रनले पराजित भएको थियो ।
नेपालले लिग-२ को पहिलो चरणको खेल सकिदा दुई अंक बटुलेको छ । नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले पराजित गरेको थियो भने नामिबियासँग पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा दुई विकेटले पराजित भएको थियो ।
नामिबियाले तीनमा जित हासिल गर्दै ६ अंक बटुलेको छ । नामिबिया लिग दुईको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स चार खेलमा दुईमा जित तथा दुई खेलमा हार बेहोर्दै ४ अंकका साथ दोस्रो स्थानमा छ । समान चार खेल खेलको नेपालले एकमा जित तथा तीनमा हार बेहोर्दै दुई अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ ।