१४ किलो सुन प्रकरणमा हालसम्म ५ जना पक्राउ

22

काठमाडौँ, २८ मङ्सिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म ५ जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो ।

अनुसन्धानका क्रममा आज प्रहरीले विमानस्थलका सरसफाइ सुपरभाइजर शुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या ५ पुगेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले जानकारी दिए ।

उनले भने, “फोहोरको भाँडोमा सुन लुकाएर बाहिर ल्याउन संलग्न भएको देखिएपछि सरसफाइ सुपरभाइजर पाण्डेलाई नियन्त्रणमा लिइएको हो, छानबिन पूरा गरेर सबै सार्वजनिक गर्छौँ ।”

सो प्रकरणमा विमानस्थल भन्सार कार्यालयका उपसचिव मणिराम पौडेल नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।

सुनसहित पक्राउ परेका घलेको बयानका आधारमा गोरखाका मीन बहादुर घलेलाई प्रहरीले पक्राउ गरेको थियो । सोही प्रकरणमा विमानस्थलका सरसफाइ सहयोगी २ जना गरी हालसम्म ५ जना पक्राउ परेको प्रमुख भन्सार प्रशासक डा.पाण्डेले बताए ।

याे पनि हेर्नुस् 

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ

Share This:
सम्बन्धित खबर
Loading...