सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टिमबाट लिए नाम फिर्ता

29

काठमाडौँ, २६ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

नाबालिक बलात्कार आरोप लागेका सन्दीपले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, “मैले भारी मनका साथ आगामी प्रतियोगिताहरूबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म यतिबेला मेरो जीवनकै कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।”

उनले आफूलाई पुनर्जीवन दिन र परिवारलाई समय दिन यस्तो निर्णय गरेको बताएका छन् । “अहिलेसम्म पाएका सबै आशिर्वाद र शुभकामनाहरूका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु । सबैलाई धन्यवाद,” उनले लेखेका छन् ।

लामिछानेविरूद्धको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । मुद्दाको पेसी बिहीबारको लागि तोकिए पनि सुनुवाइ हुन सकेन ।

गत वर्षको भदौमा एक किशोरीले आफूलाई जबरजस्ती करणी भएको भन्दै गौशाला प्रहरी वृत्तमा सन्दीपविरूद्ध जाहेरी दिएकी थिइन् । नाबालिग बलात्कार मुद्दाको आरोप लागेपछि सन्दीपकोे खेल जीवन उतारचढावपूर्ण बनेको छ ।

नेपालले कात्तिक १ गतेदेखि घरेलु मैदानमा युएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी–२० सिरिज खेल्दै छ । उक्त सिरिजका लागि सन्दीपलाई समेट्दै अन्तिम टोलीको घोषणा भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...