बंगलादेशमाथि इंग्ल्यान्ड १३७ रनले विजयी

29

काठमाडौँ, २३ असोज । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता–२०२३ अन्तर्गत आज सम्पन्न खेलमा इंग्ल्यान्डले बंगलादेशलाई पराजित गरेको छ । इंग्ल्यान्डले बंगलादेशलाई १३७ रनले हराएको हो ।

भारतको हिमाञ्चल राज्यको धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३६४ रन बनायो । ३६५ रनको विजय लक्ष्य पछाएको बंगलादेशको पारी ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २२७ रनमा समेटियो ।

बंगलादेशका लागि लिट्टन दासले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ६६ बलमा दुई छक्का र सात चौका प्रहार गरे । यस्तै, मुस्फिकुर रहिमले अर्धसतकीय पारी खेले । उनले ६४ बल खेल्दै चार चौकाको मद्धतमा ५१ रन बनाए । तोहिद हृदोयले ३९ रन बटुले ।

बलिङतर्फ इंग्ल्यान्डका रिस टप्लेले चार, क्रिस वोक्सले दुई तथा मार्क वूड, आदिल रसिद, लियाम लिभिङस्टोन र साम करनले एक–एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा इंग्ल्यान्डका डेविड मलानले सर्वाधिक १४० रनको योगदान दिए । उनले १०७ बल खेल्ने क्रममा १६ छक्का र पाँच चौका हाने । यस्तै, जोए रुटले उत्कृष्ट ब्याटिङ गर्दै ८२ रन जोडे । उनले ६८ बलको सामना गर्दै एक छक्का र आठ चौका प्रहार गरे । जोनी ब्रेस्टोले ५२ रन बनाए । उनले ५९ बल खेल्दै आठ चौका हाने । कप्तान जस बट्लरले २० रन बनाए ।

बलिङतर्फ बंगलादेशका लागि मेहदी हसनले चार, सोरिफुल इस्लामले तीन तथा कप्तान सकिब अल हसन र तास्किन अहमदले एक–एक विकेट लिए ।

जारी विश्वकपमा इंग्ल्यान्डको यो पहिलो जित हो । यसअघि आफ्नो पहिलो खेलमा इंग्ल्यान्ड न्युजिल्यान्डसँग नौ विकेटले पराजित भएको थियो । बंगलादेशको पनि यो पहिलो हार हो । यसअघि बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...