काठमाडौँ, २२ असोज । आइसिसी विश्वकप क्रिकेट–२०२३ अन्तर्गत आइतबारको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गर्दै विजयी सुरूवात गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।
भारतको चेन्नइमा टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ४९.३ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनायो । भारतले दुई सय रनको विजय लक्ष्य ४१ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । भारतका लागि केएल राहुलले अविजित ९७ रन बनाए । उनले ११५ बल खेल्ने क्रममा दुई छक्का र आठ चौका हाने । यस्तै, विराट कोहलीले ११६ बलमा ६ चौकाको मद्धतमा ८५ रन बनाए । हार्दिक पाण्ड्याले अविजित ११ रन बनाए । भारतले सुरुवातमै तीन विकेट गुमाएको थियो । भारतीय कप्तान रोहित शर्मा, इशान किशन र श्रेयास आयर शून्य रनमा आउट भएका थिए ।
बलिङतर्फ अष्ट्रेलियाका जोश हेजलवूडले तीन तथा मिचेल स्टार्कले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ७१ बलमा पाँच चौका प्रहार गरे । यस्तै, डेविड वार्नरले ५२ बलमा छ चौकासहित ४१, कप्तान प्याट कमिन्सले २४ बलमा एक चौका र एक छक्कासहित १५ तथा मिचेल स्टार्कले ३५ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए ।
बलिङतर्फ भारतका रविन्द्र जडेजाले तीन, कुलदीप यादव र जस्प्रित बुमराहले दुई–दुई तथा हार्दिक पाण्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले एकएक विकेट लिए ।