काठमाडौँ, ९ असोज । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महानगरबाट गरिबी लखेट्नुपर्ने बताएका छन् ।
सामाजिक अभियन्ता ‘ई’को सत्याग्रह र काठमाडौँ महानगरका उपमेयर सुनिता डंगोलले उनलाई भेटेको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “हामीले महानगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन ।”
अध्यक्ष ओलीले लेखेका छन्
हो, फुटपाथ हिँड्नकै लागि हो । पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो । यसमा कसैको दुईमत छैनहोला, मेरो पनि छैन। कुरा परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि गुजरा व्यापार गरिरहनुभएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो । फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो । असन, इन्द्रचोक, भोटाहिटीतिर ५०औँ वर्षअघिदेखि यस्तो चलेको हामीले देखेका थियौँ । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।
हो, अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाइ एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक (Theory of Inertia) पनि हो ।
उपमेयरले भेट्नु भएको भन्ने सुनें । यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुवै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस् ।
हामीले महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन ।
समाधानको उपाय के हुन सक्छ, तपाईंहरुको विचार पनि राख्नुस् है !