घरेलु क्रिकेटको संरचना विकास गर्नु मेरो पहिलो प्राथमिकता : पारस खड्का

30

काठमाडौँ, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सचिवमा विजयी भएका पारस खड्काले घरेलु क्रिकेट संरचना विकास गर्नु आफ्नो पहिलो प्राथमिकताको विषय रहेको जनाएका छन् ।

निर्वाचित भइसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै खड्काले घरेलु क्रिकेटको विकासका लागि संस्थागत रूपमा अघि बढ्नु पर्ने आवश्यकता औँल्याए । “सबैभन्दा ठुलो कुरा भनेकै घरेलु क्रिकेटको संरचना छ । म क्रिकेट टिमको कप्तान हुँदा पनि यो कुरामा धेरै प्रश्न गरेको थिएँ । आफैँ अब नेपाल क्रिकेट संघको पदाधिकारी भएर सचिव हुँदा मेरो एउटा मात्रै प्राथमिकता घरेलु क्रिकेटको संरचना, जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने ? भन्ने हुन्छ,” उनले भने ।

उनले नेपालको क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रूपमा अझ अघि बढाउने बताए । उनले जिल्ला र प्रदेश स्तरको क्रिकेट संरचनालाई पनि बलियो बनाएर लैजाने उल्लेख गरे ।

उनले भौतिक संरचनामा सरकार र राष्ट्रिय खेलकुद परिषद्को विशेष भूमिका खेल्न आवश्यक रहेको जनाए ।

उनले अहिलेको नेपाली क्रिकेट टिम परिपक्व भएको र आफूले खेल्दा भएको सम्बन्धका आधारमा नेपाली क्रिकेटमा अन्तर्राष्ट्रियस्तरको पार्टनरसीप गर्ने सोचेको पनि उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...