विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल रद्द

121
काठमाडौँ, २० भदौ । मलेसियामा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीचको खेल वर्षाको कारण रद्द भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अंक बाँड्दै खेल टुंग्याए । यससँगै युएई समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुग्यो ।
दुवै टोलीले समान पाँच खेलमा ९ अंक जोड्दै नेटरनरेटकका आधरमा विजेता र उपविजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेका हुन् । नेपालले अब समूह ‘बी’ को विजेतासँग यही भदौ २२ गते सेमिफाइनल खेल्ने छ । नेपाल फाइनलमा पुग्न सके सन् २०२४ मा हुने ग्लोबल टी–२० विश्वकप छनोट खेल्न पाउने छ ।
त्यसैगरी समूह ‘बी’ मा हङकङ तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । थाइल्यान्ड पनि समान तीन खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ । हङकङ र थाइल्यान्डबीचको खेल आजै हुने छ । उक्त खेलको विजेतासँग नेपालले सेमिफाइनलमा खेल्ने छ भने युएईले उपविजेतासँग खेल्ने छ ।
यसअघि नेपालले समूह चरणको खेलमा अपराजित रहेको थियो । नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गर्दै विजयी भएको हो ।
Share This:
सम्बन्धित खबर
Loading...