सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

25

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबिन गर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले सुन प्रकरणलगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पुर्‍याउन सरकार दृढ रहेको स्पष्ट पारे । यही साउन ३ गते राजश्व अनुसन्धान विभागले सिनामंगलबाट ठुलो मात्रामा सुन बरामद गरेको थियो । हाल सरकारले सो सम्बन्धमा अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । मुलुक विकासको बाधकका रूपमा रहेको भ्रष्टाचार, अनियमितता, कमिसन जस्ता विषयलाई अन्तिम निष्कर्षमा पुर्‍याउन कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्दै प्रधानमन्त्रीले निर्दोष नफस्ने र दोषीलाई उम्कन नदिने विषयमा सरकार दृढ रहेको बताएको माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...