पार्टीभित्र मित्रता, एकता र पारस्पारिक सम्बन्ध आवश्यक छ : ओली

44

काठमाडौँ, २७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आपसी मित्रता, एकता र पारस्पारिक सम्बन्ध आवश्यक रहेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमाले बागमती संगठन कमिटीको सातौँ बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले आपसी मित्रता, एकता र पारस्पारिक सम्बन्धले नै पार्टी बलियो हुने विश्वास व्यक्त गरे । उनले पार्टीभित्र अन्तरद्वन्द्व मच्चाएर, असमझदारी चर्काएर, गुटबन्दी गरेर चुनाव जितिन्छ भन्ने कुरा नसोच्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

“समझदारी तरिकाले काम गर्‍यो । अगाडि बढ्यो भने मात्र हामी सफल हुन सक्दछौँ,” उनले भने, “पार्टीमा अनेक सेन्टिमेन्ट ल्याएर, पार्टीको नीति पक्षमा नउभिएर कहीँ पुगिन्छ भन्ने होइन । कहीँ पुग्नका लागि हामीले संघर्ष गर्नु पर्दछ ।”

पार्टीमा काम गरिरहेको सक्रिय मान्छेलाई उमेरले नछेक्ने भन्दै ओलीले शरीरले काम गर्नलाई बाधा नभएसम्म पार्टी कमिटीमा रहेर काम गर्न आग्रह गरे । “पार्टीमा काम गरिरहेको मान्छे ७० वर्ष पुग्यो भनेर कमिटीमा बस्न नपाउने हुन्छ ? स्वास्थ भएका मान्छे ७० वर्ष भनेको के को उमेर हो र ? म दुई पटक मिर्गौला प्रत्यारोपण गरेको मान्छे १८ घन्टा काम गरिरहेको छु,” उनले भने, “उमेर पुग्यो त्यसकारण कमिटीमा बस्न हुँदैन भन्ने कुरा मान्छेलाई शिथिल, निष्क्रिय बनाउने तरिका हो ।”

उनले उमेर कुनै वैज्ञानिक कुरा नभएको भन्दै विश्वको कुनै पनि देशका पार्टीले उमेर हदबन्दी नराखेको उल्लेख गरे । अध्यक्ष ओलीले राजनीतिक गर्नका लागि उमेरको हदबन्दी कुरा गर्नुभन्दा मुलुक बनाउने नीति नियम बनाउनु राम्रो भएको भनाइ राखे ।

Share This:
सम्बन्धित खबर
Loading...