१० मतले जोगियो प्रचण्ड सरकार

161

काठमाडौँ, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बहुमत गुमाउनबाट १० मतले जोगिएको छ । नयाँ आर्थिक वर्षको बजेट पारित गर्ने क्रममा बुधबार प्रतिनिधिसभा भएको मतदानमा सरकारको पक्षमा १४७ मत पर्‍यो । १० मत कम आएको भए बजेट पारित नहुने मात्र होइन, सरकारमाथि विश्वाससमेत गुम्ने अवस्था आउनेवाला थियो । तर, विनियोजन विधेयक बहुमतबाट पारित भएको छ र सरकार पनि ढल्नबाट जोगिएको छ ।

गत पुस १० मा बनेको प्रचण्ड नेतृत्वको सरकारले संसद्‌बाट क्रमशः समर्थन गुमाउँदै जान थालेको छ । यसैको पछिल्लो कडी हो बुधबार प्रतिनिधिसभामा भएको मत विभाजन । बजेट पारित गर्न मतविभाजन हुनुपर्ने विपक्षी नेकपा (एमाले)को मागपछि भएको भोटिङमा सरकारको पक्षमा १४७ मत परेको थियो भने विपक्षमा १०८ मत खसेको थियो ।

प्रधानमन्त्री बनेको १६औँ दिनमा प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा प्रचण्डको पक्षमा २६७ मत परेको थियो । त्यसबेला सभामा उपस्थित २७० संसद्‌मध्येबाट प्रचण्डले २६७ मत पाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरिएपछि चैत ६ मा दोस्रोपटक विश्वासको मत लिए । त्यसबेला उनको पक्षमा १७२ मत खस्यो भने विपक्षमा ८९ मत मात्र पर्‍यो । तर, बुधबार बजेटमाथिको मतविभाजनमा सरकारको समर्थन साँघुरिएको छ भने विपक्षीको दायरा फराकिलो देखिएको छ ।

क–कसले दिए सरकारलाई समर्थन ?
सरकारको पक्षमा कांग्रेसका ८८, नेकपा (माओवादी केन्द्र)का ३२, जनता समाजवादी पार्टी (जसपा)का १२ र नेकपा (एकीकृत समाजवादी)का १० सांसदको समर्थन जोड्दा १४२ सिट पुग्छ । बुधबारको मतदानमा माओवादीलाई ४ दलबाहेक थप ५ सांसदले समर्थन गरेको देखिन्छ । लोकतान्त्रिक समाजवादी पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४ र जनमत पार्टीका ६ जना सांसदले सरकारको पक्षमा मतदान गरेको भए १५० भन्दा बढी हुने थियो । तर, सरकारलाई नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र सांसद प्रभु साहले मात्रै समर्थन जनाएको अंकगणितले देखाएको छ । जनमत पार्टी भने सरकारको विपक्षमा उभियो ।

विपक्षतर्फ हेर्दा एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र राष्ट्रिय प्रजातन्त्र पार्टीको १४ मत जोड्दा ११३ मत खस्नुपर्नेमा १०८ मत मात्रै परेको देखिन्छ । राष्ट्रिय जनमोर्चा र नेमकिपाका १–१ जना सांसद सरकारको पक्षमा उभिएनन् । तर, प्रतिनिधिसभामा बुधबार उपस्थित सांसदको संख्या २५५ मात्र थियो ।

Share This:
सम्बन्धित खबर
Loading...