काठमाडौँ, १० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने दाबी गरेका छन् । काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा उनले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो नभएको धारणा राखे ।
नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको उनको भनाइ छ । सरकार छोड्न परे पनि नडराइकन एक्ला एक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्ने भन्दै महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे ।
“हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने ? जाओस् न त सरकार । ५ वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ कि हामीले हाम्रो सरकार नबन्ला, अरूको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्यौँ,” उनले भने, “चुनावपछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइरहन्छ । तर, चुनावअघि हामी सरकार छोड्नुपर्छ भनेर चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर सरकार गुमाउन तयार भएनौँ ।”
उनले समाजवादी मोर्चामा अझै नेकपा (एमाले) पनि थपिएर कम्युनिस्टहरू एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने जनाए । “के हुन्थ्यो कम्युनिस्ट पार्टी मिलेर ? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ कांग्रेस, नजिते चकटीमा बस्छ, के बिग्रिन्छ । अब नेपाली कांग्रेसले छलफल गर्ने बेला आएको छ,” उनले भने ।