नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो

89

काठमाडौँ, १० असार । भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपाल समूह चरणबाट बाहिरिएको छ ।

भारतको बैंगलोरस्थित कान्तिराभ रंगशालामा सम्पन्न खेलमा साविक विजेता भारतसँग २–० गोलअन्तरले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो । भारतको जितमा सुनिल क्षेत्री र महेशसिंह नोरिमले एक–एक गोल गरे ।

खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले खेलको दोस्रो हाफमा दुई गोल खायो । खेलको ६१औँ मिनेटमा सुनिलले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७०औँ मिनेटमा महेशले गोल गर्दै भारतलाई २–० को सहज जित दिलाए ।

समूह ‘ए’ मा रहेको भारतले यस जितसँगै सेमिफाइनलमा पुगेको छ । भारतले दुई खेलमा ६ अंक जोडेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४–० ले गोलअन्तरले पराजित गरेको थियो ।

त्यसैगरी, नेपाल एक खेलअगावै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलअन्तरले पराजित भएको थियो । भारतसँगै कुवेत पनि सेमिफाइनल प्रवेश गरेको छ । कुवेतले शनिबार पाकिस्तानलाई ४–० ले हराएको थियो ।

समूह ‘ए’ मा रहेको नेपाल र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएका छन् । अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानविरुद्ध खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...