नेपाल नेदरल्यान्ड्ससँग पराजित

52

काठमाडौँ, ९ असार । आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना टुंगिएको छ ।

जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्टस् क्लबको मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालनेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको हो । जितसँगै नेदरल्यान्ड्स भने सुपर सिक्समा प्रवेश गरेको छ ।

त्यस्तै, यस खेलसँगै समूह ‘ए’ बाट सुपर सिक्समा पुग्ने टोलीको टुंगोसमेत लागेको छ । समूह ‘ए’ मा रहेको नेपाल र अमेरिका प्रतियोगिताबाट बाहिरिएका छन् भने नेदरल्यान्ड्स, जिम्बावे र वेस्ट इन्डिज प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन् ।

नेदरल्यान्ड्सको जितमा म्याक्स ओडाउडले ७५ बलमा आठ चौका र छ छक्कासहित ९० रन बनाए । त्यस्तै साव डि लिडेले ४१ रन र विक्रमजित सिंहले ३० रन बनाए । नेपालका सन्दीप लामिछानेले दुई विकेट र गुल्सन झाले एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १६७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७–२७, भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए ।

नेदरल्यान्ड्सका लागि लागन भान विकले चार विकेट लिए भने विक्रमजित सिंह र बास डी लिडेले समान दुई–दुई विकेट हात पारे । त्यस्तै, क्लेटन फ्लोयड र आर्यन दत्तले समान एक–एक विकेट लिए ।

नेपाल यसअघि जिम्बावेसँग आठ विकेट र वेस्टइन्डिजसँग १०१ रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यस्तै, नेपालले अमेरिकालाई भने ६ विकेटले पराजित गरेको थियो ।

यसअघि जिम्बावेसँग छ विकेटले पराजित नेदल्यान्ड्सले अमेरिकालाई पाँच विकेटले हराएको थियो । समूह चरणको आफ्नो अन्तिम खेल सोमबार नेदरल्यान्ड्सले वेस्टइन्डिजसँग खेल्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...