सांसद आलेको व्यङ्ग्य– तार काट्ने मुसा पशुपतिनाथ छिरेको हो ?

40

काठमाडौँ, ३२ जेठ । नेकपा (एकीकृत समाजवादी)का सांसद् प्रेमबहादुर आलेले पछिल्लो समय पशुपतिनाथमा अनियमितता बढेको र त्यहाँ सिसी क्यामेरा भए पनि तार काटेर यस्ता कार्य गरिएको पाइएको आरोप लगाएका छन् ।

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका आलेले पशुपतिनाथमा भएका यी अनियमिताबारे आवश्यक छानबिन गरेर त्यसमा संलग्नलाई कारबाही गर्नुको सट्टा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अनियमितता गर्नेलाई नै संरक्षण दिएको आरोपसमेत लगाए ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले पशुपति क्षेत्र विकास कोष र पशुपतिनाथ मन्दिरमा पटक–पटक भएको अनियमिततामा छानबिन भए पनि दोषीलाई कारबाही नभएकामा आपत्ति जनाए ।

“गतवर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिरेको छ,” बैठकको आकस्मिक समयमा सांसद आलेले भने, “पहिलो पटक २०७९ माघ १४ गते तार काटियो । परिषद् सदस्यको संयोजकत्वमा छानबिन समिति बन्यो र सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन दियो तर तार काट्ने मुसालाई कारबाही नगरी प्रतिवेदन लुकाउने काम गरियो । त्यसपछि फेरि दान पेटिका हरायो ।”

उनले पटक–पटक पशुपतिनाथमा भएको यो अनियमितता संलग्न हुने र तार काट्ने व्यक्तिलाई कारबाही नगरेको भन्दै गत वर्ष अर्थ मन्त्रालयमा तार काटेको मुसा अहिले पशुपतिनाथ छिरेको त होइन भनी व्यङ्ग्य गरेका थिए ।

सांसद आलेले नेपाल वायु सेवा निगमको जहाज किन्ने विषयमा असन्तुष्टि व्यक्त गरे । उनले भने, “यसवर्षको महालेखाको प्रतिवेदन र अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा नेपाल वायु सेवा निगमको घाटा एक अर्ब ७० करोड देखिएको छ । वायुसेवाको कुल ऋण ५० अर्ब नाघिसक्यो । तर, तीन महिनामा निगमले ४ अर्ब नाफा कमायो भनी पर्यटनमन्त्रीले झुट बोलेको सुनियो ।”

सांसद आलेले काभ्रेपलाञ्चोकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ‘हेलीप्याड’ निर्माणको अनुमति दिनु पनि संविधानविपरीत भएको दाबी गरे ।

Share This:
सम्बन्धित खबर
Loading...