काठमाडौँ, २९ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार ढल्न सक्ने आशय व्यक्त गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट सच्याउनुपर्ने बताएका हुन् ।
“बजेटप्रति साथीहरू सबै असतुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्ने सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ,” उनले भने, “सरकार दुर्घटनामा जान्छ । तर, त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्सन गर्नुपर्छ ।”
सत्ता गठबन्धन ५ वर्ष चलाउनु पर्ने र त्यसका लागि आफ्नो प्रयास रहनेमा अध्यक्ष नेपालको जोड छ । उनले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आएका छन् भने उनको पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ ।