काठमाडौँ, २७ जेठ । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन् ।
दण्डहिनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेशविपरीत चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई कमजोर बनाउने भन्दै उनले आक्रोशसमेत व्यक्त गरे ।
शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मतहत राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए । उनले सरकारले निर्वाचन कार्यालयलाई सिडिओ मातहतमा राख्नु गलत भएकाले सच्याउनुपर्ने स्पष्ट पारे ।
नेता कोइरालाले कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, “सामाजिक सञ्जालमा राम्रो लेखेर वा नराम्रो लेखेर, गाली गरेर कांग्रेस नबन्ने बताउँदै उनले जनताको सुखदुःखमा कसरी सामेल हुन्छौँ त्यसमा भरपर्छ ।”
उनले बजारमा महँगी बढेपनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए । कोइरालाले कांग्रेसमा गुटउपगुट हुन नहुने बताए । उनले भने, “कांग्रेस नेताले आफ्नो कमजोर ढाकछोप गर्न राजाले बोल्दा गणतन्त्र गयो भन्छन् । तर, जाँदैन । हामी समानताको पक्षमा छौँ ।”