काठमाडौँ, २७ जेठ । सरकारले पाँच जना सचिवको सरूवा गरेको छ । मन्त्रिपरिषद् बैठकले पाँच जना सचिवको सरूवा गर्ने निर्णय गरेको हो ।
सरकारले राष्ट्रिय योजना आयोगका सचिव केशव भण्डारीलाई श्रम तथा रोजगार मन्त्रालयमा सरूवा गरेको छ । भण्डारी पछिल्लो ४ वर्षदेखि योजना आयोगमा कार्यरत थिए । सहसचिवबाट सचिवमा बढुवा भएपछि भण्डारीले पहिलोपटक मन्त्रालय पाएका हुन् ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव एकनारायण अर्याललाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा तानिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयानारायण ज्ञवालीलाई राष्ट्रिय योजना आयोगमा लगिएको छ ।
यसैगरी, खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाललाई प्रधानमन्त्रीको कार्यालयमा लगिएको छ भने प्रधानमन्त्री कार्यालयमा कार्यरत रामआधार साहलाई खानेपानी मन्त्रालयमा सरूवा गरिएको छ ।