काठमाडौँ, २५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले सरकारलाई ‘चुरे’ पर्वत नछुन चेतावनी दिएका छन् । उनले चुरे छुनुभयो भने देशमा लागो लाग्ने बताए ।
“अर्थमन्त्रीज्यू, नीति तथा कार्यक्रममा पनि आ’छ । तपाईंको भाषणमा पनि आ’छ । बजेटमा पनि आ’छ । तपाईंले बजेटमा हाल्नुभएको छ । तर, चुरे नछुनुहोला, छुनुभयो भने देशमा आगो बल्छ,” उनले बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै भने । उनले प्राकृतिक स्रोत संसाधन बेचेर कुनै धनी नभएको बताए ।
“चुरेको ढुंगा माटो बेचेरु देशको खर्च टार्न सकिँदैन,” सांसद पन्तले भने । उनले भारतका नदी गंगा, यमुना र सरस्वती नदीको पानीमाथिको अधिकारबारे महात्मा गान्धीले नेताहरूलाई दिएको जबाफ उद्धृत गर्दै भनेका थिए ।
“महात्मा गान्धीका लागि नुहाउन गाग्रीमा राखिएको पानी तातिएपछि उनका सहयोगीले पोखिदिए । अनि गान्धीले किन फालेको भनेर प्रश्न गरे । त्यसको जबाफमा सँगै रहेका नेताहरूले गान्धीलाई चिन्ता नलिनुहोस् तपाईं गंगा, यमुना र सरस्वतीको तटमा हुनुहुन्छ भने । यति भने पनि गान्धीले त्यो नदीको पानीमा मेरो मात्र अधिकार छैन, त्यसमा लाखौँ किटपंतिङगरको अधिकार छ । हजारौँ किसानको अधिकार छ र सबै यसैगरी फाल्दै गए भने त्यो पानीको अवस्था के हुन्छ ? भनेर प्रश्न गरेका थिए,” उनले भने, “त्यसैले चुरे बेच्नुभन्दा पहिले यो कुरा सम्झिनुहोला ।”