काठमाडौँ, २५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको ध्यान नेपालका खोलानाला भारतलाई जिम्मा लगाउनेमा केन्द्रित भएको बताएका छन् ।
उनले प्रतिनिधिसभामा बिहीबार भएको बजेटमाथिको छलफलमा यस्तो टिप्पणी गरेका हुन् । “सरकार भारतलाई कसरी खोलानाला जिम्मा लाउने भन्नेमा ध्यान गएको छ,” अध्यक्ष लिङ्देनले भने ।
सरकारले नेपालका अधिकांश खोलानालाहरू भारतलाई बेचिसकेको उनले आरोप लगाए । “शेरबहादुरजी भारत गएको बेला पश्चिम सेतीलगायत बेच्नुभयो । अहिले फुकोट कर्णाली, अरूण तेस्रो बुझाइयो,” उनले भने । उनले अब केही खोला मात्र बाँकी रहेको उल्लेख गरे ।
नेपाल सरकारमा भारतले लगानी गरेन भने हाम्रो देशमा विद्युत्नै उत्पादन हुँदैन, भारतले त्यो विद्युत् किनेन भने बिक्री हुँदैन भन्ने भ्रम रहेको उल्ले गरे । अध्यक्ष लिङ्देनले स्वदेशमा विद्युत्को खपत बढाउने, व्यवसायीहरूलाई सहुलियत दरमा विद्युत् दिने, हाइड्रोजन उत्पादन र मल उत्पादनतर्फ सरकारको ध्यान नगएको उनले बताए ।
अध्यक्ष लिङ्देनले सरकारले सर्वसाधारणले किन्न सक्ने विद्युतीय गाडीमा कर बढाएर ठुलाबडाले चढ्ने लक्जेरस गाडीमा कर घटाएको आरोप लगाए । “सर्वसाधारणले किन्न सक्ने गाडीमा कर बढाइयो । ठुलाबडाले चढ्ने लक्जेरस गाडीमा कर घटाइयो,” उनले भने, “यस्तो चिजले स्वभाविक रूपमा अन्यौल सिर्जना भएको छ ।”
उनले बजेट आउनुभन्दा अघि ५/६ सय वटा गाडीहरू भित्रिएका सूचनाहरूले पनि अन्यौल सिर्जना गरेको बताए ।