काठमाडौँ, २२ जेठ । गौर हत्याकाण्डको छानबिनका लागि माग गर्दै परेको रिटमा सोमबार पेसी तोकिएको छ । १६ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्डमा मारिएकाहरूका आफन्तले सर्वोच्चमा रिट हालेका हुन् ।
रिटमा रौतहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ । २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए ।
त्यो दिन तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाउँमा कार्यक्रम आयोजना गरेको निहुँमा झडप भएको थियो ।
लामो समयदेखि कुनै अनुसन्धान अघि नबढेको यो घटनाको अनुसन्धान अघि बढाउन राष्ट्रिय मानव अधिकार आयोगले पनि गत पुसमा सिफारिस गरेको थियो ।
आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान अघि बढाउनु भनी आदेश दिएको हो ।