रायडाँडामा टेलिकमको सेवा पुगेपछि स्थानीय हर्षित

13
  • थम्मन थापा

बागलुङ, २१ जेठ । यहाँका नागरिक केही समय पहिले नेपाल टेलिकमको नेटवर्कमार्फत् कुराकानी गर्न डाँडाकाँडा धाउनु पर्ने बाध्यता थियो । नेटवर्क सिग्नलको सहज पहुँच नहुँदा कुरा गर्दा काटिने, मोबाइलमा सिग्नल कमजोर भएर आउने जाने गर्ने गर्थ्यो, डाटा चल्दैनथ्यो जसका कारण नागरिकले सहज मोबाइल सेवा पाएका थिएनन् । यहाँका मानिसहरूलाई सूचना आदान प्रदान गर्न निकै कठिनाई झेल्नु परेको थियो ।

बागलुङ नगरपालिका–११ रायडाँडामा नेपाल टेलिकमले मोबाइल सेवा विस्तार गरेसँगै यो समस्याको समाधान भएको छ । टेलिकमले बिटियस टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको जनाएको छ ।

सेवा सुचारु भएपछि स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र डाटा सेवा पाएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इञ्जिनियर केशव शर्माले बताए । शर्माका अनुसार यसअघि त्यहाँ प्रभावकारी मोबाइल सेवा नहुँदा नागरिकलाई असहज भएको थियो ।

भौगोलिक विकटताका कारण छिमेकी वडाका टावरको सिग्नल पहुँच घर तथा कार्यालयमा निकै कमजोर थियो । टावर सञ्चालनमा आएपछि त्यहाँका झण्डै ३ सय घरधुरीमा मोबाइलको भ्वाइस र डाटा दुवै सेवा सहज भएको छ । रायडाँडा, भेडिखोर, बालौटे, राम्तोलालगायतका बस्ती टेलिकमको मोबाइल सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

“पहिलेदेखि नै मोबाइल सेवाका लागि टेलिकमसँग माग गरिरहेका थियौँ, अहिले टावर बनेर सेवा सुरु भइसक्यो, हामी स्थानिय खुसी छौँ,” स्थानिय फर्स बहादुर थापा मगरले भने ।

मोबाइलमा इन्टरनेटको लागि तत्काललाई थ्रिजी सेवा सञ्चालनमा रहेको छ । उक्त टावरमा छिट्टै निकट भविष्यमा चौथो पुस्ताको फोरजी सेवा उपलब्ध गराउने टेलिकमको योजना छ ।

बागलुङ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले मोबाइल सेवाले स्थानीयवासीको दैनिकी सहज बनेको बताए । ग्रामीण क्षेत्रमा टेलिकमको मोबाइल सेवाले सञ्चारको क्षेत्रमा फड्को मारेको वडा अध्यक्ष गौतमको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...