काठमाडौँ, २० जेठ । नेपालमा धर्मको संख्या १० वटा कायम भएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले ८१ प्रतिशतभन्दा बढीले हिन्दु धर्म मान्ने देखाएको छ ।
२०७८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरूमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् ।
यस्तै, २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किरात र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
धर्मसम्बन्धी तथ्यांक
हिन्दुः २,३६,७७,७४४
बौद्धः २३,९३,५४९
इस्लामः १४,८३,०६६
किरातः ९,२४,२०४
ईसाईः ५,१२,३१५
प्रकृतिः १,०२,०४८
बोनः ६७,२२३
जैनः २,३९८
बहइ ५३७
शिखः १,४९६