काठमाडौँ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आम माफीसम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालयले चौधरीको आममाफीसम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता गरेको हो ।
कानुन नपुगेको देखिएकाले गृह मन्त्रालयमा फाइल फिर्ता गरिएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुनबमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको सचिवालयले जनाएको छ ।
यसैबीच टीकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ ।
शुक्रबारै बोहराले चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराएकी थिइन् ।
२०७२ भदौमा कैलालीको टीकापुर घटनामा अदालतमा दोषी ठहर भई चौधरीले जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् । चौधरीलाई जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत् सजाय माफी गराउने तयारी भए पनि शीतल निवासको निर्णयसँगै तत्कालका लागि यो सम्भावना सकिएको छ ।