काठमाडौँ, ५ जेठ । सरकारले आगामी दुई वर्षभित्र काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति सम्पन्न गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र रंगशालाको स्तरोन्नति सम्पन्न गरी अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने उल्लेख छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङ विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण कार्यसमेत अघि बढाइने बताए ।
हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने उल्लेख गर्दै उनले वार्षिक खेलकुद क्यालेन्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताको आयोजना गरिने उल्लेख गरे ।
यसैगरी उनले एक वडा, एक खेलमैदान, एक पालिका, एक कभर्डहलको निर्माण गर्दै खेलकुदलाई राष्ट्रको पहिचान गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्ने बताए ।