घोराही, ३० वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् । आफ्नो नाम विभिन्न सञ्चारमाध्यममा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
नेपाल प्रेस युनियन दाङको साधारणसभा एवम् ८औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सो प्रकरणमा आफू कहीँ कतै पनि नजोडिएको स्पष्ट पारे । सञ्चारमाध्यमलाई सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्न उनले आग्रह गरे । मिडियालाई बलियो बनाउनका लागि प्रदेश सरकारले पत्रकार र सञ्चारगृहका लागि विशेष योजना बनाएको उनको भनाइ थियो ।
पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास तथा दुरदराजसम्म सूचनाको पहुँच पुर्याउनका लागि प्रदेश सकारले भूमिका खेल्दै आएको मुख्यमन्त्री चौधरीले बताए । रेडियोको सबलीकरणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले लोकतान्त्रिक आन्दोलनको जगबाट अहिलेको व्यवस्था स्थापनाका लागि नेपाली सञ्चारकर्मीले खेलेको भूमिकालाई राजनीतिक दलले विर्सन नहुने बताए ।