काठमाडौँ, २७ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला आदालतले प्रहरीलाई अनुमति दिएको छ ।
नक्कली शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँको रकम ठगी गरेको घटनामा जोडिएपछि आजै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । मंगलबार पक्राउ परेकाहरूको हकमा भने चार दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज पक्राउ परेका खाण र केसीको हकमा तीन दिन र अन्यको हकमा ४ दिन म्याद थपको सिफारिससहित अदालतमा पेस गरिएको थियो । अदालतबाट माग भएबमोजिम नै म्याद थप भएको छ ।
उक्त घटनामा अहिलेसम्म प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । यसअछि मंगलबार काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
यसअघि, प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ । सचिव पाण्डेलाई हाल निलम्बन गरिएको छ ।
उक्त घटनामा हालसम्म १०६ जनाले २० वटा जाहेरी दिइसकेको बताइएको छ । उक्त घटनाका पीडितहरूले कुल २३ करोड २५ लाख ठगी भएको जाहेरीमा उल्लेख गरेका छन् ।