नेपाललाई एसिसी प्रिमियर कपको उपाधि, एसिया कपमा छनोट

87

काठमाडौँ, १९ वैशाख । नेपाली क्रिकेट टोलीले एसिसी प्रिमियर कपको उपाधि जितेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेसँगै नेपाल नेपाल एसिया कपमा छनोट भएको छ । आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा नेपालले पनि खेल्ने छ ।

युएईले उपाधि जित्नका लागि दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे । उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले अविजित ३६ रन बनाए । दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो ।

त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भए । कप्तान पौडेललाई १ रनमा रोहन मुस्ताफाले बोल्ड गरे भने विकेटकिपर ब्याटर आसिफ शेखलाई ८ रनमा युएईका आयान खानले एलबिडब्लु आउट गरे । यस्तै, कुशल भुर्तेललाई मुस्ताफाले नै १ रनमा एलबिडब्लुकै धरापमा पारे ।

त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिँदा मंगलबारसम्मका लागि स्थगित भएको थियो ।

मंगलबार २७.३ ओभरबाट ब्याटिङ सुरू गरेको युएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भयो ।

युएईका आसिफ खानले सर्वाधिक ४६ रन जोडेका थिए । ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरेका खान ललित राजवंशीको २८औँ ओभरको दोस्रो बलमा आरिफ शेखद्वारा क्याच आउट भए । यस्तै, आर्यन लाक्रा १३, कप्तान मोहम्मद वासिम ११, बसिल हमीद १० तथा वृत्य अरविन्द ८ रनमा आउट भए ।

युएईलाई सस्तैमा समेट्न ललित राजवंशीले ४ विकेट लिएका थिए । करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...