नेपाल र युएईबीचको बाँकी खेल भोलि

एसिसी प्रिमियर कप

89

काठमाडौँ, १८ वैशाख । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ । भोलि (मंगलबार) यहि अवस्थाबाट खेल सुरू हुने छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो ।

बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थामा मंगलबार बिहान ९ बजेदेखि सुरू हुने छ ।

यो प्रतियोगितामा रिजर्भ डे राखिएको थियो । वर्षाले सोमबार खेल हुन नसक्ने भएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निर्णय गरेका हुन् ।

मंगलबार नतिजा आउन नसकेमा सुपर ओभरबाट नतिजा निकाल्नुपर्ने हुन्छ । यदि वर्षाका कारण सुपर ओभर पनि हुन सकेन भने नेपाल एसिया कपमा पुग्ने छ । सुपर ओभर पनि वर्षाका कारण हुन नसके एकदिवसीय वरीयताको कारण नेपाल एसिया कपमा पुग्नेछ । नेपाल एकदिवसीय वरीयतामा १४औँ र युएई १९औँ स्थानमा छन् ।

टस हारेर पहिला ब्याटिङ गरेको युएईमाथि पहिलो इनिङ्समा नेपाल हामबी छ । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिएका छन् भने सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुलशन झाले १–१ विकेट लिएका छन् । नेपालका स्पिनर राजवंशी ह्याट्रिक नजिक थिए । उनले मंगलबार पहिलो बलमै विकेट लिन सके एकदिवसीय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी बन्ने छन् ।

युएईका आसिफ खानले सर्वाधिक ४७ रन जोडेका थिए । ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरेका खान ललित राजवंशीको २८औँ ओभरको दोस्रो बलमा आरिफ शेखद्वारा क्याच आउट भए । यस्तै, आर्यन लाक्रा १३, कप्तान मोहम्मद वासिम ११, बसिल हमीद १० तथा वृत्य अरविन्द ८ रनमा आउट भए ।

यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा कुवेतसँगको खेल वर्षाको कारण नतिजाविहीन भएपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो । साथै युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...