काठमाडौँ, ११ वैशाख । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् ।
गएराति ११स्४५ बजेदेखि मतगणना सुरू भएकामा आज बिहान ६ बजेसम्मको नतिजाअनुसार रास्वपाका डा.वाग्लेले अग्रता लिएका हुन् । हालसम्म ६ वडाको मतपरिणाम सम्पन्न हुँदा वाग्लेले ५ हजार १९ मत प्राप्त गरेका छन् ।
आँबुखैरेनी १ र २, भानु नगरपालिका–३, ७, ८ र १० को नौ हजार २५७ मतगणना सम्पन्न हुँदै नेपाली कांग्रेसका गोविन्द भट्टराईले २ हजार ३५१ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले १ हजार ५४९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।
तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार तनहुँ–१ मा १ लाख २३ हजार ३०५ जना मतदाता रहेका छन् ।