मोरङ, २ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वर्तमान अवस्थामा कांग्रेसका नेता एवम् कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस मोरङद्वरा आज आयोजित नववर्ष २०८० को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातान्त्रिक पार्टीभित्र रहेको विगतका तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकर्ता एवम् नेतृत्वले बिर्सी एक ढिक्का भएको विचार राखे ।
नेता डा.कोइरालाले कांग्रेस कार्यकर्ताले आगामी दिनमा बहुमत सरकार निर्माण गर्ने उद्देश्यले अगाडि बढ्नसमेत आग्रह गरे । उनले वर्तमान उपनिर्वाचनमा कांग्रेसका दुई उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिँदै कार्यकर्ताले ‘साथीलाई होइन पार्टीलाई’ आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरे ।
कांग्रेसका पूर्वउपाध्यक्ष विजयकुमार गच्छदारले कानुनी राज्य, संसदीय प्रजातन्त्रलाई स्थायित्व र राजनीतिक स्थिरता कायमका लागि कांग्रेसको काँघमा ठुलो जिम्मेवारी रहेको बताए ।