नेपालगञ्ज, २८ चैत । राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबारदेखि सुरू भएको बन्दसत्र आज पनि जारी छ ।
सोमबार उद्घाटन समारोह पश्चात राति सुरू भएको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि अहिले बन्दसत्रमा प्रतिनिधिहरुमाझ छलफल भइरहेको संघका प्रवक्ता माहाराज गुरुङले बताए ।
उनका अनुसार बन्दसत्रमा अध्यक्ष किरण पौडेलले पेस गरेको प्रतिवेदनमाथि प्रतिनिधिले छलफल गरी पास गर्ने कार्ययोजना रहेको छ । बन्दसत्रमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य एवम् युवा संघ इन्चार्ज महेश बस्नेत, केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकाललगायतका नेताहरु रहेका छन् ।
महाधिवेशनमा भाग लिन देशभरबाट आएका दुई हजार बढी युवा प्रतिनिधि नेपालगञ्ज आएका छन् । महाधिवेशनले समग्र युवा आन्दोलनको समीक्षा गर्दै नयाँ नेतृत्व चयन गर्नुका साथै युवालाई सामाजिक रुपान्तरण गर्न मार्गनिर्देश गर्ने छ । बन्दसत्रलगत्तै नेतृत्व चयन प्रक्रिया सुरु हुने बताइएको छ ।